• होमपेज
  • निर्माण व्यावसायिको लापरवाहीले सिल्मी ठूलीपोखरी सडकमा जोखिम बढ्यो
Breaking News

निर्माण व्यावसायिको लापरवाहीले सिल्मी ठूलीपोखरी सडकमा जोखिम बढ्यो

पर्वत/पर्वतको सदरमुकम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला –सिल्मी –ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड अन्तर्गत निर्माण व्यावसायिको लापरवाहीले जोखिम बढेको छ। दैनिक सयौं सवारी साधन चल्ने उक्त सडकमा समयमा काम नगर्दा यात्रुहरुलाई सास्ती भएको हो ।

सिल्मी–ठूलीपोखरी सडक खण्डको पोखरी घुम्ती, लौकेको उकालो लगायतका ठाउँमा रहेको सोलिङका ढुंगा उक्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेल लगायतका सामाग्री नराख्दा बिरामी तथा विद्यालय जाने विद्यार्थीहरुलाई समस्या भएको हो । सडक समयमा काम नहुँदा ठूलीपोखरी हुँदै दैनिक आवतजावत गर्ने सवारीसाधन बाटैमा अलपत्र परेका हुन् ।

विज्ञापन

वैकल्पिक व्यवस्था नगरी सडक अलपत्र छाड्दा उकालो ठाउँमा हिलोले सवारी जान सकिरहेका छैनन् । सवारी साधन नियमित नहुँदा विद्यालय जाने विद्यार्थी तथा बिरामीहरुलाई समेत समस्या भएको हो ।

हिलो हुने समयमा भईरहेको सोलिङ उक्काएर ढुंगा लाने तर बाटो नबनाउने गर्दा स्थानीय समस्यामा परेको कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलक प्रसाद रिमालले बताउनुभयो । वैकल्पिक सडकको उचित व्यवस्थापन तथा मर्मत हुनुपर्नेमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको बताउनुभयो ।

“हामीले पटक–पटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ, तर खासै ध्यान दिइएको छैन, उहाँले भन्नुभयो–‘कतिपय समयमा उल्टो गाली गर्ने गरेको छ ।”

स्थानीय बासिन्दा तथा व्यावसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा दैनिकरूपमा कुश्मा, पोखरा लगायतका ठाउँमा जाने र आउने सवारी साधन आवतजावत गर्न कठिनाइ भएको बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीलाई मर्मतको कुरा उठाउँदा धभ्काउने गरेको बताउनुभयो । “सडक बनाउन आग्रह गर्दा व्यवसायी आनन्द बरालले उल्टै तथानाम गाली गर्ने गरेको उहाँको भनाई छ । यस्तो व्यवहारले सडकको गुणस्तरमा समेत आशंका रहेको छ,” केसीले भन्नुभयो–‘हामीले जवाफदेही बन्न आग्रह गर्दा उल्टो थर्काउने धम्क्याउने गर्छन् ।’

सो सडकको निर्माण र अनुगमनको जिम्मेवारी लिएको जिल्ला पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले यस विषयमा निर्माण पक्षलाई पटक–पटक निर्देशन दिएको बताउनुभयो। “हामीले तत्काल सडक मर्मत गर्न भनिरहेका छौँ तर, निर्माण व्यावसायिले अटेरी गर्दा यस्तो समस्या आएको हो उहाँले भन्नुभयो– त्यसका लागि स्थानीय जनता र जनप्रतिनिधीले दवाव दिनुपर्छ ।’ यता निर्माण व्यवसायी आनन्द बराल भने सम्पर्कमा आउन चाहेनन् ।

सडकमा सोलिङ भएको भाग उक्लिएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटना जोखिम बढेको छ। स्थानीयहरूले सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन आग्रह गरेका छन्।

जिल्ला पूर्वाधार विकास कार्यालय पर्वतको आ.व. २०८०÷०८१ को स्वीकृत बजेट रु ५ करोड ८० लाखमा ५ किलोमिर सडकको स्तरोन्नती शुरु भएको हो । उक्त सडक यस आर्थिक वर्षमा सकिनुपर्नेमा कुल २५ प्रतिशत मात्रै काम भएको छ । सडकमा कालोपत्रे, ढलान, नाली, टेवा पर्खाल तथा जाली लगाउने कार्य हुने जिल्ला पूर्वाधार कार्यालय पर्वतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै