• होमपेज
  • विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन
द्रुत खबर बिशेष

विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन

सन्तोष सुनाम

पृष्ठभूमि
जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायती व्यवस्थाका प्रणेता राजा महेन्द्रलाई मागहरु सम्बोधन गर्न बाध्य पारेर घुँडा टेकाएको ऐतिहासिक दिन हो । जेठ १ लाई विद्यार्थी संगठनहरुले विजय सफलताको दिवसको रुपमा मनाउने गरेका छन् । आजभन्दा करिब ५ दशक अघि ०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध गरी राजनीतिक अधिकार निलम्बन गरेका बखत विश्वविद्यालय, कलेज र स्कूलका विद्यार्थीहरुले संगठित रुपले आन्दोलन गर्नु र आफ्ना माग पूरा गर्न बाध्य पार्नु चानचुने कुरा थिएन । त्यसबेला विद्यार्थीहरूको एउटा पाटो मात्रै राजनीति थियो । तर त्यसलाई पञ्चायती शासकहरुले त्यसरी बुझ्न सकेनन् र विद्यार्थी आन्दोलन अन्ततः नेपालको इतिहासमा राजतन्त्रको मलामी आन्दोलन बन्न पुग्यो । छिटपुट आन्दोलनलाई छोडेर हेर्ने हो भने ०२९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको आन्दोलनलाई ०१७ सालपछिको बिद्यार्थी आन्दोलनको प्रारम्भ मानिन्छ ।

०२० साल बैशाख २३ गते विश्वविद्यालयमा पहिलो हडताल भयो । पन्चायती शासकहरुले प्रायः राजनैतिक क्रियाकलापमा बिद्यार्थीहरुलाई कडाइ गरेका तर बिद्यार्थीहरु पन्चायती व्यवस्था विरुद्ध भुसको आगोझैं भित्रभित्रै विस्फोटको आन्दोलनको तयारीमा थिए ।
विद्यार्थीहरुको साझा बिषय स्ववियु खोल्न पाउनुपर्ने थियो । तर पन्चायती व्यवस्थाका हिमायती शासकहरु त्यो गर्न तयार थिएनन् । आन्दोलनको केन्द्र त्रिभुवन विश्वविद्यालय बन्न पुग्यो । जब त्रिविमा आन्दोलन सुरु भयो, लगत्तै देशभर आन्दोलन चर्कियो । आन्दोलनको फलस्वरूप शासकहरु स्ववियु निर्वाचन गराउन बाध्य भए । जहाँ प्रगतिशील पक्षले विजयी हासिल ग¥यो । त्यसपश्चात देशभर विभिन्न खालका सम्मेलनहरु सुरु हुन थाल्यो । पन्चायती शासकहरुको निर्देशनमा व्यापक प्रहरी दमन भयो, जसका कारण सयौंको सङ्ख्यामा घाइते र सयौं विद्यार्थीहरुलाई गिरफ्तार ग¥यो । तर लुकुछिपी सम्मेलनहरु चलिरह्यो । सम्मेलनले स्ववियु स्थापना, यातायातमा भाडा छुट लगायत महत्त्वपूर्ण प्रस्तावहरु पारित ग¥यो । त्यस लगत्तै सम्मेलनमा भाग लिने विद्यार्थीहरुलाई गिरफ्तार गरि सम्मेलनका प्रस्तावका दस्तावेजहरु समेत जफत ग¥यो । गिरफ्तारमा परेका बिद्यार्थीहरुको रिहाईका लागि विभिन्न किसिमका आन्दोलनहरु भयो । आन्दोलनलाई विफल बनाउन तत्कालीन पन्चायती शासकले निर्ममतापुर्वक प्रहरी दमन प्रयोग ग¥यो । निरन्तर १५ दिनसम्म सरकार र प्रदर्शनकारी बिद्यार्थीहरुबिच तनावपुर्ण आन्दोलन चलेपछि अन्ततः पन्चायत झुक्यो र पक्राउ परेका बिद्यार्थी रिहा ग¥यो । यो अबधिमा विद्यार्थी आन्दोलनमा समाहित रहेका हरेक पुस्ताको चाहाना थियो । राजतन्त्रको अन्त्य, गणतन्त्र नेपालको स्थापना, संविधानसभाबाट संविधानको घोषणा, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिक निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा र रोजगारीमा जनताको मौलिक हक सुनिश्चित भएको हेर्ने हरेक विद्यार्थी र आन्दोलनकारीको मन मस्तिष्कमा थियो । तर हामीले इतिहासलाई फर्किएर हे¥यौ भने धेरै गुमाएका छौँ । तसर्थ प्राप्त उपलब्धिको सहि सदुपयोग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको म्यान्डेटले विद्यार्थीको शैक्षिक कार्यदिशा तयार गर्नुपर्छ । संविधानको यथाशीघ्र कार्यान्वयन गरि विकास र आर्थिक समृद्धिको “फास्ट ट्रयाक” मार्फत हरेक जनताको घरदैलोमा परिवर्तन बिहानीको झुल्के घाम जस्तै आशाको किरण लिएर पुग्न सक्नुपर्छ ।

विज्ञापन

स्ववियु
त्रिभुवन विश्वविद्यालयले चैत्र ५ का लागि स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेपछि अन्य विश्वविद्यालय र आंगिक क्याम्पसले स्ववियु निर्वाचन मिति तोकेर निर्वाचन तयारी थालिसकेको अवस्था छ । स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) असल राजनीतिक नेतृत्व उत्पादन गर्ने नर्सरी हो । चैत्र ५ स्ववियु निर्वाचनको मितिसँगै देशभरिका क्याम्पसहरुमा विद्यार्थी संगठनका नेता कार्यकर्ताको चहलपहल र उपस्थिति बढेको छ । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थीहरुमा उत्साह थपेको छ । आधिकारिक रुपमा सम्बन्धित क्याम्पसको समग्र विद्यार्थीको प्रतिनिधि पनि स्ववियु हो । राजनैतिक परिदृश्यमा मिनि सांसदको रुपमा चिनिने स्ववियुलाई समयानुकूल विकास गर्न सम्पुर्ण अग्रगामी विचार बोक्ने विद्यार्थी समुदाय एकजुट हुन जरुरी छ ।
बिद्यार्थी समुदाय समाजको सचेत पंक्ति भएको हुनाले आसन्न स्ववियु निर्वाचनमा बिद्यार्थी आन्दोलनको रुपान्तरणका लागि काम गर्न सक्ने सचेत र अब्बल टिमलाई जिम्मेवारी दिनुपर्ने आवश्यकता छ । शिक्षा क्षेत्रमा झांगिदै आएको निजीकरण र व्यापारीकरणलाई समाप्त पार्ने अबको स्ववियुको कार्यभार हुनेछ ।

स्वतन्त्र विद्यार्थी युनियनको अबको कार्यभार प्रमाणपत्र राखेर सतप्रतिशत लोनको व्यवस्था, प्राविधिक शिक्षामा जोड, शिक्षालाई पुर्ण रोजगारीमुखी र उद्यमशिल बनाउने शिक्षा बनाउने नीति विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट आउनुपर्ने, माध्यमिक तहसम्म शिक्षामा निजीकरण उन्मुलन गरि सम्पुर्ण शिक्षाको राज्यले जिम्मा लिनुपर्ने र यससँगै विद्यार्थी संघसंगठनमाथि पनि अनेकौं प्रश्न उठेका छन्,यी सबै प्रश्नहरुको जवाफ स्ववियु निर्वाचन पश्चात् व्यवहारिक र रचनात्मक ढंग मार्फत चिर्न जरुरी छ ।

कार्यभार
देशभर रहेका विश्वविद्यालय र आंगिक क्याम्पसहरुमा चरम राजनीतिजरणले शैक्षिक अवस्था निकै नाजुक र धरसाही बन्दै गइरहेको छ । यसलाई कसरी व्यवस्थित गर्ने त्यो विषयमा स्ववियुले देशभरका क्याम्पसमा योजनाबद्ध हिसाबले काम गर्न अपरिहार्य छ । अध्ययन गर्ने बिषयहरुको समयमा समयमा पाठ्यक्रम नसकिनु, समयमा परिक्षा संचालन नहुने, समयमा ट्रन्सकिप्ट उपलब्ध नहुने लगायतका बिषयमा विशेष ध्यान दिनुपर्ने छ । त्यसैगरी विश्वविद्यालय र क्याम्पसमा क्षमता, आरक्षण र शैक्षिक अवस्था राम्रो भएतानि पावर स्रोसफ्रोसका आधारमा जुन सेवा सुविधा अर्थात छात्रवृत्ति पाउने व्यवस्था छ, यसलाई समाधान गरेर वास्तविक बिद्यार्थीले सहुलियत र छात्रवृत्ति पाउने कुरामा स्ववियु लाग्न जरुरी छ ।

यो कुरा साँचो हो कि, ऐतिहासिक जागरण, जन आन्दोलन र जन विद्रोहको पृष्ठभुमि मुलतः विद्यार्थी आन्दोलन नै हो । यहीँ मुल्यांकनका आधारमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने हिम्मत, साहस र धैर्यता आउने दिनहरूमा जनता र तमाम विद्यार्थीको आँखामा प्रतिविम्बित गर्ने जमर्को आजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले गर्न सके नेपाली विद्यार्थी आन्दोलनमा थप सार्थकताको इट्टा थपिनेछ ।
पञ्चायती शासक विरुद्ध सशक्त आवाज उठाउने अभिभारा स्ववियुले लियो । मुलुकको व्यवस्था परिवर्तनमा स्ववियुको महत्त्वपूर्ण भुमिका छ । स्वतन्त्र विद्यार्थी युनियनको साखलाई उठाउनको निम्ति आसन्न स्ववियु निर्वाचनलाई अवसरको रूपमा लिन जरुरी छ ।
लेखक
सन्तोष सुनाम
स्थायी कमिटी सदस्य, अनेरास्ववियू

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook