• होमपेज
  • राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?
Breaking News

राष्ट्रपति निर्वाचन : को–को छन् चर्चामा ?

आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ।

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचनको मिति तय गरेको छ। आयोगको कार्यतालिका अनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ।

विज्ञापन

निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्। राष्ट्रपतिका लागि आआफ्ना रणनीतिमा दलहरू सक्रिय छन्।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेज भएकाले एक पद रिक्त छ। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।

यी हुन् चर्चाका उम्मेदवार

राष्ट्रपतिका लागि एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीदेखि डोरमणि पौडेल, विष्णु रिमाल, गोमा देवकोटासम्मको नाम चर्चामा छ। पोखरेल दुई–दुई पटक एमालेका महासचिव पनि भइसकेका छन्। यो पटक भने उनी काठमाडौं ५ बाट कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका थिए।

नेम्बाङको नाम निर्वाचन यता नै राष्ट्रपतिका लागि चर्चामा छ। उनी इलाम २ वटा निर्वाचित सांसद हुन्। उनी संविधानसभाका अध्यक्ष र सभामुख भइसकेका व्यक्ति हुन्। शाक्य बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री हुन्। योपटक शाक्य कहीँबाट चुनाव लडिनन्। यस्तै एमाले अध्यक्ष ज्ञवालीको नाम पनि चर्चामा छ।

शाक्य र ज्ञवाली लामो समयसम्म माधव नेपाल समूह थिए। तर, पार्टी विभाजनका बेला उनीहरू ओलीसँगै बसे। पौडेल पनि बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री हुन्। एमालेका उपमहासचिव रिमाल ओलीका सबैभन्दा विश्वास पात्र हुन्। निर्वाचनमा कतै उम्मेदवार नबनेर रिमालले पार्टीको डिजिटल प्रचार अभियानलाई नमुना नै बनाएका थिए। एमालेले कसलाई बनाउने भन्ने बताएको छैन। अध्यक्ष ओलीले यी माथिकामध्ये जस पनि उम्मेदवारका रूपमा प्रस्तुत गर्न सक्छन्।

राष्ट्रपतिका लागि फागुन १३ गते एमालेले आफ्नो उम्मेदवार अघि सार्ने ओलीले नै बताउँदै आएका छन्। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’ उनले विराटनगरमा भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’

त्यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा लगायतको नाम चर्चामा छन्। राष्ट्रपतिको अभिलासामा नै पौडेल देउवानजिक भएका हुन्। अघिल्लो पाँचदलीय गठबन्धनको नेतृत्व गरेको हिसाबले उनको दाबीलाई त्यही बेलादेखि स्वभाविक रूपमा हेरिँदै आएको हो। देउवाका विश्वासपात्र श्रेष्ठ र विक हुन्। श्रेष्ठ कांग्रेसका पूर्वउपसभापति पनि हुन्। सिटौला भारतका पनि विश्वासपात्र हुन्। उनलाई राष्ट्रपति बनाउन भारतको लबिङ रहेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि पछिल्लो समयमा चर्चामा आएको छ। भारतीय विदेशमन्त्री आएसँगै उनको नाम चर्चामा अगाडि आएको हो। भारत सिटौला नभएमा ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको चर्चा छ।

केही गैरराजनीतिक कर्मीको नाम पनि चर्चामा छ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री एवं पूर्वराजदूत नीलाम्बर आचार्यलगायतका नाम पनि चर्चामा छन्। माधवकुमार नेपाल र झलनाथ खनालको पनि नाम मन्दरूपमा आइरहेको छ। माओवादीको भूमिका राष्ट्रपति को हुने भन्ने निर्धारण गर्नेछ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० को सहमतिको विकल्प नरहेको बताए। ‘सहमतिअनुसार नै जानुपर्छ, सहमतिको विकल्प छैन, एमालेकै राष्ट्रपति हुन्छ,’ उनले भने। एमालेका प्रचार विभाग प्रमुखसमेत रहेका गुरुङले आफू एकीकृत कम्युनिस्ट पार्टीको पक्षधर भएको बताउँदै तत्कालको लाभहानीको प्रभावमा प्रचण्ड पर्न नहुने बताए। ‘एकीकृत कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्ने पक्षधर हो म त, त्यसका लागि सबै कम्युनिस्ट पार्टी मिलेर एउटै बनाउनुपर्छ। अहिले तत्कालको फाइदामा प्रचण्ड लाग्नु हुँदैन’, उनले भने।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमालेद्वारा प्रस्तुत गरेको जो कोही उम्मेदवार स्वीकार गर्न नसक्ने बताए। उनले कांग्रेस र एमालेमध्ये जसले उपयुक्त साझा पात्र ल्याउँछ उसैलाई समर्थन गर्न सक्ने संकेत गरे। उनका अनुसार एमालेले प्रस्तुत गरेको पात्र माओवादीका लागि स्वीकारयोग्य हुनुपर्नेछ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook