• होमपेज
  • यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम
Breaking News

यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालको समीक्षा गरेका छन् । उनले मन्त्रीमा पदबहाली गरेको ९० दिनको अवसरमा गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् ।

टडकारो रूपमा देखिएको वैदेशिक रोजगार सम्बन्धी सबैको चासोको विषय बनेको छ । मन्त्री कुँवरले उक्त विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका बताएका छन् । सीपसहितको आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न नसकिने उनको ठहर छ ।

विज्ञापन

नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको प्राविधिक सहयोगमा सम्भवतः राष्ट्रिय स्तरमा दक्षिण एसियामै पहिलो पटक नेपालमा अनौपचारिकताको निदान सम्बन्धी कार्ययोजना बनाउने प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ । यो कार्यले श्रमिकहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्न सजिलो हुने र समग्र देशको अर्थ नीतिलाई औपचारिक करण गर्दै मुलुकको विकासमा थप टेवा पुग्ने मन्त्री कुँवरले विश्वास लिएका छन् ।

मन्त्री कुँवरले आफ्नो ९० दिने कार्यकालमा आन्तरिक रोजगारीको प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुने गरी कार्यान्वयन गरिएको जनाएका छन् । त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण सम्बन्धी निर्देशिका, २०७९ स्वीकृति भएको छ । यसबाट आप्रवासन प्रक्रियाको महत्त्वपूर्ण कार्य गर्न सहयोग र सहजीकरण हुनेछ ।

स्विस सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन एकीकरण परियोजना (रेमी) संघीय, प्रादेशिक र स्थानीय तहमा सञ्चालन हुने गरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुनः कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको छ । दक्षिण कोरिया सरकार (कोइका) को सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । त्यस्तै रोजगारी सम्बन्धी कार्यक्रमहरूको एकीकृत तथ्यांक व्यवस्थापनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गर्न उच्चस्तरीय समिति गठन भई काम भइरहेको छ ।

श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भई तदनुरूप जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook