• होमपेज
  • माधव नेपालको नयाँ पार्टीको घोषणापत्र- ‘ऐतिहासिक नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी’
Breaking News

माधव नेपालको नयाँ पार्टीको घोषणापत्र- ‘ऐतिहासिक नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी’

काठमाडौं- प्रस्तावित नेकपा (एकीकृत समाजवादी)लाई ऐतिहासिक नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्थाका रूपमा प्रस्तुत गरिएको छ। सोमबारदेखि चन्द्रागिरिमा जारी सो पक्षको भेलामा वितरित घोषणापत्रमा पार्टी गठनको ऐतिहासिक आधार प्रस्तुत गर्ने प्रयत्न गरिएको छ।

‘नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रूपहरू अवलम्वन गर्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा अगुवाइ गरेको छ। यस पार्टीले २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा लामो समयदेखि नेपाली जनतामाथि शासन र शोषण गर्दै आएको सामन्ती राजतन्त्रलाई उखेली फ्याकेर संघीयता, धर्म निरपेक्षता, समावेशीता र समानुपातिकताजस्ता विशिष्ट विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा निर्णायकभूमिका पूरा गरेको छ। त्यही ऐतिहासिक भूमिका निर्वाह गर्ने नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्था हो वर्तमान नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),’ घोषणापत्रमा भनिएको छ।

विज्ञापन

पार्टी आजसम्मका जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक-आर्थिक-सांस्कृतिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ र नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । मार्क्सवाद-लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो। यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन-सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। तर, मार्क्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो । त्यसैले यसको प्रयोग सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ,’ घोषणापत्रमा भनिएको छ।

एकीकृत समाजवादी पार्टी जनआधारित कार्यकर्ता पार्टी भएको घोषणापत्रमा भनिएको छ। यसको संठनात्मक सिद्धान्त अर्थात् पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हुने उल्लेख छ। ‘यस पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात् आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ। यो पार्टी नेता प्रधान होइन नीति प्रधान हुनेछ। पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्य पद्धति अवलम्बन गरिनेछ। व्यक्ति कमिटीको मातहत रहने र अल्पमत बहुमतको मातहत रहने तथा तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति अवलम्बन गरिने छ,’ घोषणापत्रमा भनिएको छ।

पार्टीको सार्वभौम अधिकार पार्टीका सङ्गठित सदस्यहरूमा निहीत रहनेछ। ‘यसको प्रयोग पार्टी विधान अनुसार हुनेछ। पार्टीको संगठनात्मक संरचना मुलुकको संघीय संरचना अनुरुपको हुनेछ। सबै पार्टी कमिटीहरु समावेशी चरित्रका हुनेछन्। हरेक पार्टीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवाहरुलाई राखिनेछ। यस पार्टीका सदस्यहरूले सामाजिक-आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि उत्पादन संघर्ष र वर्गसंघर्षमा सामेल हुँदै विचार, संगठन, संघर्ष र सृजनशीलताका क्षेत्रमा अग्रणी भूमिका खेल्नेछन्। उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन्,’ घोषणापत्रमा उल्लेख छ।

एमालेको नवौ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको भए पनि त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गरेको र उनले महाधिवेशनका निर्णय नबोकेको बताइएको छ।

‘अध्यक्षमा छानिएका केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नै रहेनन्। उनले महाधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका थिए। त्यसैबीच तत्कालीन नेकप (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता गरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चलेनन्। मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीति अनुसार चलाएनन्। फलत: पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो। उनले २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो,’ घोषणापत्रमा भनिएको छ।

आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरेको भए पनि ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टीलाई विसर्जन हुनबाट जोगाएर नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्न अग्रसर भएको उल्लेख छ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook