• होमपेज
  • बैंकिङ क्षेत्रमा कोरोना प्रभावः गत वर्षभन्दा यो वर्ष सुधार
अर्थ खबर

बैंकिङ क्षेत्रमा कोरोना प्रभावः गत वर्षभन्दा यो वर्ष सुधार

बैंकिङ क्षेत्रमा कोरोना महामारीको प्रभाव गत वर्षको तुलनामा कम देखिएको छ।

बैंक वित्तीय संस्थाले सार्वजनिक गर्नथालेको वार्षिक प्रतिवेदनले वित्तीय अवस्थामा गत वर्षभन्दा सुधार भएको देखिएको हो।

विज्ञापन

बैंक तथा वित्तीय कम्पनीहरूले गत वर्षको तुलनामा कारोबार तथा मुनाफामा समेत सुधार गरेको देखिएको छ। मुनाफामा झण्डै दोब्बरले वृद्धि गरेको देखिएको छ।

असारसम्मको विवरण समेटेर बैंक तथा वित्तीय कम्पनीहरूले साउन महिनाभित्र आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ।

अहिलेसम्म वाणिज्य बैंक र विकास बैंक गरेर चारवटाले वित्तीय विवरण सार्वजनिक गरेका छन्।

यसअनुसार नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षभन्दा ८४ प्रतिशतले बढी हो।

त्यस्तै सिटिजन इन्टरनेशनल बैंकले एक अर्ब ५९ करोड, महालक्ष्मी विकास बैंकले ७३ करोड र कामना सेवा विकास बैंकले ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यी सबै बैंकको नाफा गत आवभन्दा धेरै छ। यस्तो छ वित्तीय विवरण–

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफा ८४ दशमलव १७ प्रतिशतले वृद्धि गरेको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार एक वर्ष अवधिमा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो वर्ष बैंकले एक अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

यो अघिल्लो वर्ष ४४ करोड ९१ लाख रुपैयाँ मात्रै थियो। बैंककोे प्रतिसेयर आम्दानी बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा अहिले पुँजी बढेर ९ अर्ब माथि पुगेको छ।

बैंकको निक्षेप ३१ दशमलव १५ प्रतिशत र कर्जा १५ दशमलव ८६ प्रतिशतले बढेर क्रमशः ८७ अर्ब १२ करोड रुपैयाँ र ६८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

सिटिजन्स बैंक इन्टरनेशनल 
सिटिजन्स बैंक इन्टरनेशनल अघिल्लो वर्षको तुलनामा आफ्नो नाफा ३३ दशमलव ४० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष एक अर्ब १९ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षमा एक अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी २५ दशमलव ०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा पुगेको हो। बैंकको निक्षेप ८८ अर्ब ४९ करोड रुपैयाँबाट एक खर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ७८ अर्ब ९७ करोड रुपैयाँबाट एक खर्ब १८ अर्ब पुगेको छ। दुवै अघिल्लो वर्षभन्दा ५० प्रतिशत बढी हो।

महालक्ष्मी विकास बैंक 
महालक्ष्मी विकास बैंकले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। अघिल्लो वर्षको तुलनामा आफ्ना नाफा ७१ दशमलव ०२ प्रतिशतले बढाएको छ।

बैंकले गत साउनदेखि असार मसान्तसम्ममा ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। बैंकले अघिल्लो वर्ष ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य नाफा पनि बढेर ५६ करोड ३८ लाख रुपैयाँ पुगेको छ। खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

अघिल्लो वर्ष १३ रुपैयाँ ९५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी अहिले २१ रुपैयाँ ९३ पैसा कायम भएको छ। बैंकको चुक्ता पुँजी ९ प्रतिशतले बढेर ३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ३८ अर्ब ६० करोड रुपैयाँ र कर्जा ३० अर्ब १० करोड रुपैयाँ पुगेको छ।

कामना सेवा विकास बैंक 
कामना सेवा विकास बैंकले खुद नाफा अत्यधिक बढेको छ। यो वर्ष आफ्नो नाफा मात्रै गत वर्षको तुलनामा ५८ करोड ५ लाख रुपैयाँले बढाएको हो। अघिल्लो वर्ष बैंकको ११ करोड ९७ लाख रुपैयाँ मात्रै खुद नाफा रहेको छ।

यो वर्ष ७० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। नाफासँगै विकास बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २६ रुपैयाँ ४ पैसा पुगेको छ। अघिल्लो वर्ष २ दशमलव १६ रुपैयाँ मात्रै थियो।

बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। एक वर्ष अवधिमा बैंकले ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook