• होमपेज
  • चिनियाँ हस्तक्षेपविरुद्ध प्रधानमन्त्री ओली, चिनियाँ मिसन असफल बन्ने सम्भावना
Breaking News

चिनियाँ हस्तक्षेपविरुद्ध प्रधानमन्त्री ओली, चिनियाँ मिसन असफल बन्ने सम्भावना

काठमाडौँ- संसद विघटनसँगै राजनीतिकरुपमा विभाजित भइसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको प्रयास गर्न नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको चार सदस्यीय टोली अन्ततः निराश फर्कने सम्भावना प्रबल बनेको छ।

नेकपा विभाजित भएमा आफ्नो ठूलो मेहनत र लगानी खेर जाने तथा प्रतिस्पर्धीहरु फेरि बढ्ने त्राससहित नेपाल आएको सीपीसी उच्चस्तरीय टोलीले नेकपामा तलसम्म कित्ताकाट भइसकेको दृश्यका बीच आइतबार र सोमबार नेकपालाई पुनः ब्युँताउने असफल प्रयास गर्‍यो।

विज्ञापन

नेपाल आएकै दिन आइतबार सीपीसी उच्चस्तरीय टोलीले नेकपा विवादको केन्द्रमा रहकी र अर्को पक्षले ‘खलनायक’ को रुपमा प्रस्तुत गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर पार्टी एकताको मिलबिन्दु खोज्ने प्रयास गरेको थियो।

तर यसपल्ट शीतलनिवास र बालुवाटारको बोली र व्यवहार चीनप्रति फरक रहेको उच्चस्तरीय स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप स्वीकार्य नहुने बताएको स्रोतले दाबी गरेको छ।

प्रधानमन्त्री ओलीको यो प्रतिक्रियासँगै चिनियाँ टोलीको नेकपा बचाउने ‘मिसन’ असफल हुने सम्भावना बढेको हो। स्रोतहरुका अनुसार त्यसअघि राष्ट्रपति भण्डारीले पनि चिनियाँ टोलीलाई नेपालको आन्तरिक मामालिामा हस्तक्षेप गर्न नहुने संकेत दिएकी थिइन्।

केही समयअघि चिनियाँ राजदूत हाउ यान्छीले ओलीले प्रधानमन्त्री पद त्यागेर भएपनि पार्टीलाई जोगाउन आग्रह गरेपछि प्रधानमन्त्री ओली चीनसँग टाढा र भारतसँग नजिकिन थालेको अड्कलबाजी भइरहेको छ।

सोमबार बिहान ९ बजेदेखि गुओको टोलीले करिब दुई घण्टा खुमलटारमा नेकपाको अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि बानेश्वरमा सवा एक घण्टा अध्यक्ष माधवकुमार नेपाललाई भेटेको थियो।

गुओको टोली प्रचण्ड र नेपालले दिएको प्रतिक्रियाबाट झनै निराश अवस्थामा फर्किएको स्रोतले जनाएको छ। स्रोतका अनुसार गुओको टोलीले प्रचण्ड र नेपालसमक्ष अलगअलग तर उस्तै धारणा राखेको थियो।

राजधानीको एभरेस्ट होटलमा चिनियाँ टोली। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

यो टोलीले प्रचण्ड र नेपाललाई भनेको थियो ,‘नेपालमा राजनीतिक अनिश्चय देखियो। त्यसबाट नेपालले कसरी निकास पाउला? हामीलाई चिन्ता लाग्यो । त्यसैले नेपाल आएको हो। तर हामी आन्तरिक मामिलामा हस्तक्षेप गर्न आएको होइन। हामी नेकपा एक भइदियोस् भन्ने मात्र चाहन्छौँ। पार्टी एक भएको भए राम्रो सन्देश जाने थियो। नत्र विदेशीको हस्तक्षेप हुन्छ कि भन्ने चिन्ता छ।’

तर प्रचण्ड र नेपालले आफ्नो मुलुक र पार्टीमा उत्पन्न जटिल परिस्थितिलाई लिएर चिन्ता गरेको विषयलाई सकारात्मक रुपमा लिएको भएपनि अब पार्टी एकताको सम्भावना निकै कम रहेको चिनियाँ टोलीलाई सुनाएका छन्।

प्रचण्डले मुलुकको संसद विघटन र पार्टी विभाजनको काम प्रधानमन्त्री ओलीबाट भएको, ओलीले आफ्ना भयानक गल्तीहरु सच्चाएको खण्डमा आफूहरु पुर्नविचार गर्न सक्नेबारे चिनियाँ टोलीलाई स्पष्ट पारेको प्रचण्ड निकट स्रोतले बतायो।

तर संसद विघटन र पार्टी विभाजनको सुरुवात गरिसकेपछि ओलीको गतिविधि हेर्दा उनी सच्चिने सम्भावना निकै कम रहेको आफ्नो निष्कर्ष प्रचण्डले चिनियाँ टोलीसमक्ष राखेका थिए।

स्रोतका अनुसार प्रचण्डले चिनियाँ टोलीलाई भनेका छन्, ‘पार्टी एक हुने सम्भावना निकै कम छ। ओली सच्चिएमा पार्टी एकताबारे केही सोच्न सकिएला। तर त्यसको संकेत पनि देखिएको छैन। झनझन उहाँ तानाशाही प्रवृतिमा होमिनु भएको देखिन्छ। जुन बिन्दुमा गल्ती भएको थियो त्यही पुग्नुहोस् भन्दा उहाँले पार्टी विभाजन गरिदिनु भयो।’

नेपालले पनि प्रचण्डको जस्तै प्रतिक्रिया दिएर चिनियाँ टोलीसँग छुट्टिएको नेपाल निकट स्रोतले बतायो। आफ्नो घरमा नभई बानेश्वरस्थित एक होटलमा चिनियाँ टोलीसँग भेट गरेका अध्यक्ष नेपालले सीपीसीले आफ्नो मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिबारे चिन्ता जनाएकोमा आफू आभारी भएको तर यहाँ स्थिति जटिल बनेको बताएका थिए।

‘तपाईँहरुको शुभेच्छा र हामीले चाहेजस्तो गरी पार्टी अघि बढेन। ओली सच्चिएमा अझै पनि पार्टीमा उहाँ रहने सम्भावना छ। तर उहाँले के गर्नुहुन्छ त्यसमा पार्टी निर्भर हुँदैन। पार्टीमा एउटा व्यक्ति गौण हुन्छ। पार्टीको मान्यता अनुसार ओली अघि बढ्नु भएन,’ चिनियाँ टोलीसमक्ष नेपालले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो।’

तस्बिर: सामाजिक सञ्जाल।

योसँगै प्रचण्ड र नेपाल दुवैले आफ्नो पार्टी एक चीन नीतिमा स्पष्ट रहेको र चीनसँग सुमधुर सम्बन्ध र सहकार्य गर्न सधैँ इच्छुक रहेको बताएका थिए।

त्यसपछि चिनियाँ उच्चस्तरीय टोलीले यो खेमाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग करिव एक घण्टा डल्लु पुगेर छलफल गरेको छ। नेता खनालसँग पनि यो टोलीले सोही कुरा दोहोर्‍याएको थियो।

नेता खनालका अनुसार चिनियाँ टोलीले नेकपा एक भइरहे नेपालमा समृद्धि र विकासको गति तीव्र हुनेमा जोड दिएको थियो। खनालले पनि आफू नेकपा एकताकै पक्षमा रहेको तर पछिल्लो पटक परिस्थिति जटिल बनेको जवाफ चिनियाँ टोलीलाई दिएका थिए।

चिनियाँ टोलीले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलगायत दलका नेताहरुसँग पनि छलफल गर्ने कार्यतालिका  बनाएको बुझिएको छ। कोभिड प्रभावित क्षेत्रमा लामो समयको यात्रामा ननिस्कने सीपीसीको नीति भएपनि सीपीसीको टोलीले करिब चार दिन बिताउने तयारी गरेको थियो।

तर नेकपाका दुवै खेमाका नेताहरुसँगको छलफल उनीहरुको अपेक्षा अनुसार अघि नबढ्ने देखिएमा त्यो भन्दा अघि नै चिनियाँ टोली स्वदेश फर्कने संकेत पनि नेपाली पक्षलाई दिइएको छ।

पूर्वएमाले र माओवादीबीच पार्टी एकतालाई केन्द्रमा राखेर चुनावी गठबन्धन हुँदा उत्साहित चीनले गठबन्धनले आम चुनावमा बहुमत पाएपछि २०७४ साल फागुन ८ गते गुओलाई नेपाल पठाएको थियो।

त्यसको केही महिनापछि अर्थात २०७५ साल जेठ ३ गते एमाले र माओवादीबीच एकता भएको थियो।  तर एकताको केही महिनामै अध्यक्ष ओली र प्रचण्डबीच एकताका बेला गोप्यरुपमा भएको ‘आलोपालो’ सहमति कार्यान्वयन नहुने संकेत देखापरेपछि विवाद सुरु भएको थियो।

पार्टी एकताको ३० महिनापछि भएको नेकपा विभाजन सोही ‘आलोपालो’ सहमतिको असफलतासँग जोडिन पुगेको छ।  ओलीले आफूसँग गरेका सहमति कार्यान्वयन नगर्ने संकेत पाउनसाथ उनीविरुद्ध मोर्चाबन्दी निर्माण गर्ने काम प्रचण्डबाट भएको थियो।

अन्ततः आफू पार्टीमा अल्पमतमा परेपछि ओलीले संसद विघटनसँगै पार्टीलाई दुई चिरा बनाउन भूमिका खेलेका थिए।

मुलुकको राजनीतिमा दुरगामी प्रभाव पार्ने यी घटनापछि नेपाल आउने गुओ पहिलो विदेशी उच्च अधिकारी हुन्। यसअघि नेकपाको विवादले उत्कषको रुप लिइरहेका बेला मंसिर १४ गते चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गे नेपाल आएका थिए।

‘प्रधानमन्त्री ओलीले आफूलाई पद त्यागेर पार्टीको विवाद समाधान गर्नुहोस् भन्ने कसैलाई स्वीकार गर्नुहुन्न। उहाँलाई मुलुकमा राजनीतिक जटिलता उत्पन्न होस् त्यसमा कुनै चासो छैन। आफ्नो पद सुरक्षित गर्ने संकेत पाएपछि अहिले उहाँ भारतसँग नजिकिनु भएको छ। भारत नेकपा एक होस् भन्ने चाहन्न। नेकपा एक भयो भने नेपाल र चीनको सम्बन्ध राम्रो हुन्छ भन्ने भारतको बुझाइ छ,’ नेकपा प्रचण्ड–नेपाल खेमाका बैदेशिक मामिलामा जानकार एक नेताले भने।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook