• होमपेज
  • देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?
Breaking News

देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

काठमाडौं, ५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव देशभर नै फैलिएको छ । अहिले पनि देशका धेरै जिल्लामा मध्यदेखि भारी बर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण देशभर बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विज्ञापन

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, प्रदेश–५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राति पनि देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ र सुदूरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, प्रदेश–५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, प्रदेश–५ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुलेटिनमा भनिएको छ, ‘प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश–५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ अहिले नारायणी नदीको बहाव उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

काठमाडौंका खोला–नदीमा बहाव बढ्यो, सर्तक रहन आग्रह
पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बारा, पर्सा र रौतहटमा दिउँसोसम्मै जोखिम
बाढी सूचना केन्द्रले सोमबार बिहान चार बजे जारी गरेको सूचना अनुसार हाल बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले नदी किनार र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

नवलपरासीवासीलाई १० बजेसम्म जोखिम
यसैगरी परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुन सक्ने भएकाले अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । त्यसैले नवलपरासीवासीलाई सोमबार बिहान १० बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्रमा थप वर्षाको सम्भावना छ । त्यसैले डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

रंगुन क्षेत्रमा विहान १० बजेसम्म सतर्क रहन आग्रह

सुदूरपश्चिमको डडेलधुरा जिल्लाको रंगुन क्षेत्रमा अति भारी वर्षा मापन भएको छ । रंगुन क्षेत्रमा दुई घण्टाको अवधिमा १०० मी.मी. वर्षा मापन गरिएको छ ।

थप वर्षा हुने देखिएकाले महाकाली दोभान र आसपासका क्षेत्रमा खतरा हुन सक्छ । त्यसैले सोमबार १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अत्यधिक वर्षा भएपछि जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाएर सतर्क रहन पनि भनिएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook