पर्वत । पर्यटकीयस्थललाई जोड्न गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि १७ वटा योजनामार्फत करिब पाँच किमी पदमार्ग निर्माण गरिएको हो ।
कतिपय स्थानमा ढङ्गाको सिँढी बनाएर र कतिपय स्थानमा ढलान गरेर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । कार्यालय प्रमुख पोषनाथ शर्माका अनुसार १७ स्थानमा गरेर चार हजार ८५० मिटर लामो पदमार्ग निर्माण गरिएको छ ।
विज्ञापन
मोदी गाउँपालिकाको झिलिबराङ्ग–ताप्राङ–कोखे–मोहोरेडाँडा, मोदी–६ मा दराक–चित्रेपाटा, फलेवास–८ को थुम्काबाट नयाँ बस्ती जोड्ने पदमार्ग, मोदी–७ राम्जाको पाटेपहराबाट ज्येष्ठ नागरिक भवनसम्म, फलेवास–३ मा रुग्दी–थापाथर–गैरावारी–चुचन देउराली पदमार्ग निर्माण गरिएको उनले जानकारी दिए ।
यसैगरी, जलजला–८ मा तल्लो डिलचौताराबाट शालग्राम आश्रमसम्म, सोही वडाको ओडारेबाट अग्लो झोलुङ्गेपुलसम्म, कुश्मा नगरपालिका–१४ मा बर्केठाँटीबाट पञ्चासेसम्म, जलजला–३ मा फर्से खोलाघाँटबाट फट्केढुङ्गासम्मको पदमार्ग निर्माणसम्पन्न भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख शर्माले बताए ।
विहादी गाउँपालिका–१ बाच्छामा रहेको बच्छेश्वर मन्दिर जाने पदमार्ग, फलेवास–१० माथुमा दुक्तान हुँदै चिसापानी जोड्ने पदमार्ग, जलजला–९ बनौमा बनौ–लिस्नेगाम पदमार्ग र मोदी–५ बाजुङमा सार्कीटोलबाट बाजुङ भूमेकोट जोड्ने र कुश्मा–१२ स्थित प्रसिद्ध बाटुलेचौर मन्दिर पुग्ने पदमार्ग निर्माण गरिएको हो ।
पर्यटन तथा पूर्वाधार कार्यालयले गत आर्थिक वर्षमा पदमार्ग निर्माणका लागि रु एक करोड २५ लाख खर्चिएको जनाएको छ । पदमार्ग निर्माणपछि बाह्रैमास पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
गत आर्थिक वर्षमा पर्यटन पूर्वाधारका लागि विनियोजित रु तीन करोड ४५ लाख बजेटमध्ये चारवटा पार्क र २१ वटा विभिन्न मठमन्दिर, सत्तल, गुम्बालगायत स्थान मर्मत तथा पुनःनिर्माणमा खर्च गरिएको प्रमुख शर्माले बताए । पर्वतमा गत आर्थिक वर्षमा पर्यटन पूर्वाधारका ४२ वटा योजना रहेका थिए ।
पर्यटन तथा उद्योग कार्यालयमा पाँचवटा पथप्रदर्शक संस्था दर्ता भएका छन्भने ६१ वटा घरबास ९होमस्टे० नवीकरण भएका छन् । यसैगरी, गत आवमा १३६ उद्योग तथा वाणिज्य फार्म दर्ता भएका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवमा रु ३९ लाख एक हजार २७१ राजस्व सङ्कलन भएको जनाएको छ ।
कार्यालय प्रमुख शर्माका अनुसार ९३ दशमलव ३० प्रतिशत वित्तीय र शत्प्रतिशत भौतिक प्रगति भएको छ । पर्यटन तथा उद्योग कार्यालयबाहेक सामाजिक विकास कार्यालयले पनि करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छभने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न पालिकाले धार्मिक तथा पर्यटकीयस्थल जोड्ने र नागरिकलाई हिँड्डुल गर्न सहज हुने खालका पदमार्गहरू निर्माण गरिरहेका उनले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु