काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट दुईतिहाई विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ ।
साथै, विपक्षमा ७४ मत र एकजना तटस्थ बसेका छन् । प्रतिनिधिसभामा २६३ सांसद् उपस्थित थिए । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
विज्ञापन
दुई तिहाइ बहुमत पुग्नको लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर उनले त्यसको पनि चार मत बढी पाएका हुन् ।
उनलाई एमाले, कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले विपक्षमा मतदान गरेका छन् ।
यता, प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरूद्धको मुद्दा भने सर्वोच्चको संवैधानिक इजलासमा पुगेको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।
संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्बाट लाग्नुपर्ने आदेशमा उल्लेख छ ।
दुई तिहाइसँगै संविधान संशोधन गर्ने एजेन्डासहित बनेको नयाँ सत्तागठबन्धनलाई अब संविधान संशोधन गर्न स्पष्ट मत पुग्ने भएको छ । तर, संविधानलाई सहमतिको दस्तावेज मानिने भएकाले प्रतिपक्षीलाई मनाउन चुनौतीपूर्ण नै हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु