• होमपेज
  • प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं
Breaking News

प्रदेश २ मा सर्वोच्चको फैसलाको असर : सांसद भन्छन्- पद जोगाउनै पर्‍यो त्यसैले मूल पार्टीमै फर्किन्छौं

जनकपुरधाम । वामपन्थी तीन दलले ०७४ असोज १७ गते चुनावी तालमेल गर्न सैद्धान्तिक सहमति गरे । केही दिन नबित्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अलग भए । ०७५ जेठ ३ गते केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादीले एकताको औपचारिक घोषणा गर्‍यो । नेकपा बन्यो । तर, सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला सुनाएपछि प्रदेश २ मा पनि प्रत्यक्ष असर परेको छ ।

गुट परिवर्तन गरेका नेकपाका विद्रोही सांसदहरु संकटमा परेको आकलन गरिएको छ । एक सय सय सात सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ सांसद थिए । पार्टी एकता भएर नेकपा बनेपछि ३२ सांसद पुग्यो । तर पार्टी अनौपचारिक विभाजन भएपछि तत्कालीन नेकपा एमालेका १३ सांसद नेकपा प्रचण्ड-माधव नेपाल समूहमा लागे । माओवादी केन्द्रका ४ सांसद केपी शर्मा ओली समूहमा पुगे ।

विज्ञापन

विभाजनपछि यस प्रदेशमा ओली समूहभन्दा प्रचण्ड-माधव समूह बलियो भयो । तर अब पुनः ओली समूह शक्तिशाली हुने निश्चित भएको छ । “गुट परिवर्तन गरेका सांसदहरु पुनः मूल पार्टीमा फर्किनेछन्, नफर्किए उनीहरुको सांसद पद नै गुम्नेछ,” एमालेबाट निर्वाचित एक सांसदले भने, “पद जोगाउनै बाध्य छौं । त्यसैले हामी मूल पार्टीमै फर्किन्छौं ।”

तत्कालीन नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डल र प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा थिए । यस्तै माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डल र प्रमुख सचेतक दिलीप साह थिए । पार्टी एकता भएर नेकपा बनेपछि पनि संसदीय दलका नेतामा मण्डल नै निर्वाचित भए भने सचेतकमा रामकुमार यादव आए ।

नेकपा विभाजन भएपछि प्रचण्ड-माधव नेपाल समूहले संसदीय दलका नेता मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता गरेरै हटाए । ओली समूहमा लागेको भन्दै बहुमतले मण्डललाई हटाएर संसदीय दलका नेता शत्रुधन महतोलाई चुने । तर अब महतोले संसदीय दलका नेताको पद गुमाउनुपरेको छ ।

“सूर्य चिह्‍नबाट निर्वाचित भएका छौं । पहिले पनि एमाले थिएँ,” उनले भने, “अहिले पनि एमाले छु । पार्टी विभाजन नै भएको थिएन ।” संसदीय दलको पद गए पनि केहि फरक नपर्ने उनले बताए । “अब एमाले संसदीय दलको बैठक बस्छ,” उनले भने, “त्यसबाटै संसदीय दलका नेता नयाँ चयन गर्ने कि पुरानैलाई मान्यता दिने छलफल हुन्छ ।”

ओली समूहमा लागेका माओवादी केन्द्रका सचेतक रहेका मण्डल भन्छन्, “अब के गर्ने विषयमा छलफल भइरहेको छ । कुनै ठोस निष्कर्षमा पुगिसकेको छैन ।” सर्वोच्चको फैसलाले संक्रमणकालको अवस्था आएकाले अहिले आफूलाई माओवादी केन्द्रको सचेतक कि ओली समूहका नेता भन्नुमै अन्योलमा परेको उनले बताए ।

प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का ५५, नेपाली कांग्रेसका १९ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् । २१ सांसद रहेका नेकपा एमाले पहिले पनि प्रमुख प्रतिपक्षीको हैसियतमा थियो, अब पुनः त्यही हैसियतमा फर्किएको छ ।

पत्र प्राप्त भएको छैन : सभामुख
प्रदेश २ का सभामुख सरोजकुमार यादवले सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताए पनि पत्र प्राप्त नभएको बताए । उनले निर्वाचन आयोगबाट दुवै दलले अलग-अलग पत्र ल्याएपछि मान्यता दिने बताए । उनले भने, “अब प्रदेशसभामा नेकपा पार्टी नै रहेन । त्यसैले नेकपाका संसदीय दलका नेता र प्रमुख सचेतक पनि रहँदैनन् ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook