गणेश पौडेल,
पर्वत, जेठ २ गते । माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ ।
विज्ञापन
पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्थाको अगुवाइमा गुफाको जीर्णोद्वार र विभिन्न पूर्वाधार निर्माण भएसँगै धार्मिक पर्यटकहरू बढ्दै गएका हुन् ।
धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनि कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण हुन सकेको थिएन । सदिऔं पुरानो गुफामा भगवान शिवका विभिन्न आकृतिहरू रहेका छन् । माता पार्वतीले कठोर तपस्या गरेका स्थानहरू त्यहाँ देख्न सकिन्छ ।
पछिल्लो समय समितिको पहलमा सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय कुश्मा नगरपालिकाको सहयोगमा पूर्वाधारको विकास भएको छ । गण्डकी प्रदेश सरकारले विभिन्न समयमा करिब एक करोड बढी बजेट विनियोजन गरि पूर्वाधारहरू निर्माण गरिएको समितिका उपाध्यक्ष जनकराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०७७ सालदेखि निरन्तर बजेट विनियोजन भई निर्माण कार्य भइरहेको छ । हालसम्म स्वागत द्वार, गुफासम्म जाने पैदल मार्ग, पानी निकास कुलो, पुल, पार्वती मन्दिर, विभिन्न मूर्तिहरू, सत्तल, टेवा पर्खाल तथा जग्गा सम्माउने काम भइसकेको छ । पौडेलका अनुसार गुफाभित्र प्रकृतिक रूपमा रहेका पूर्वाधार बाहेक अन्य पूर्वाधारहरू निर्माण गर्न नसक्दा पर्यटक तथा धर्मावलम्वीको आकर्षण हुन सकेको थिएन ।
गुफा र वरपरको जग्गा समेत व्यक्तिको नाउँमा भएको हुँदा पूर्वाधार बनाउन समेत समस्या भएपछि स्थानीयसँग सहयोग मागेर पूर्वाधार निर्माणको काम अघि बढाइएको पौडेलले बताउनुभयो । अहिले समितिको मातहातमा गुफा वरपरको करिब ९ रोपनी जग्गा दान लिएर पूर्वाधार विकास गरिएको छ । १८ जनाले जग्गा दिने प्रतिबद्धता गरेर जग्गा लिने काम भएको र हालसम्म ९ जनाले दिएको उहाँको भनाइ छ ।
समितिको पहलमा गत वैशाख अक्षय तृतीयाको अवसर पारेर माता पार्वतीको मूर्तीको प्राण प्रतिष्ठा गरिएको छ । स्थानीयवासीको सहयोगमा मूर्ती ल्याउने, विभिन्न धार्मिक अनुष्ठान गर्ने तथा प्रचार प्रसारको कामका लागि सहयोग जम्मा गरिएको उपसमितिका संयोजक प्रेमप्रसाद रेग्मीले बताउनुभयो ।
पाङ पार्वती माताको जन्मभूमि हो भनेर पहिला कतिपयलाई जानकारी समेत नभएको बेला योगी नरहरी नाथले आफ्नो पुस्तक ‘देश दर्शन’मा समेत उल्लेख गर्नुभएको थियो । गुफाको अग्रभागमा हात्तीको ठुला सुँडका आकृति साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृति रहेको छ । गुफाबाट निस्केको पानी करिब २ किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट १ हजार धाराको सहश्रधारा निस्किएको छ । सो स्थानमा बालाचतुदर्शी, स्वस्थानी ब्रतको समय तथा शिवरात्रि साथै सोमबारका दिनहरूमा विशेष पूजा हुने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु