पर्वत/ कुनै बेला थियो, पर्वत सदरमुकाम कुश्माबजार राजनीतिक हिसावले आधाआधा जस्तो थियो । बजारको माथिल्लो भेगमा थियो नारायण मावि, अलि तल थियो शिवालय मावि । जिल्लाबासीको बुझाईमा नारायण मावि कांग्रेस र शिवालय मावि कम्युनिष्टको विद्यालय थिए । यतिसम्मकी कांग्रेस समर्थक नारायणमा र बामपन्थीहरु शिवालयमा पढ्न जान्थे । दुवै विद्यालयबीच शैक्षिक गुणस्तरलगायत विभिन्न विषयमा प्रतिस्पर्धा र एकप्रकारले भन्नुपर्दा द्वन्द्वसमेत हुन्थ्यो । सदरमुकाम कुश्माबजार ‘तल’ र ‘माथि’, ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ मा प्रष्टै विभाजित थियो । त्यसको ‘ह्याङओभर’ यद्यपी थियो ।
समय परिवर्तसंगै जिल्ला सदरमुकाममै उच्च शिक्षाको अवसर खोजी भयो । २०४८ मा गुप्तेश्वर बहुमुखी क्याम्पस संचालनमा आयो । त्यसमा ‘माथिल्लो बजार’ र कांग्रेस नेताको पहल थियो । शिवालय मावि अर्थात् ‘तल्लो बजार’ केही पछाडि पर्यो । शिवालयले पनि निरन्तर पहल गरिरह्यो । फलस्वरुप २०६७ मा आएर बहुमुखी क्याम्पस बन्न सफल भयो । र एकै ठाउँमा समुदायद्वारा २ क्याम्पस संचालनमा आए । विद्यार्थी पनि उल्लेख्य थिए । क्याम्पस राम्रैसंग चल्दै गएका थिए ।
विज्ञापन
समय क्रमसंगै दुवै क्याम्पसमा विद्यार्थी संख्या घट्दै गयो । बदलिएको सामाजिक बिकासक्रम, अपर्याप्त सरकारी सहयोगलगायत कारणले दुवै क्याम्पस संचालनमा कठिनाइ आयो । यो कुरा दुवै क्याम्पसका संचालक समितिदेखि स्थानीयले पनि बुझे । अव छुट्टाछुट्टै हिसावले क्याम्पस नचल्ने निष्कर्षसंगै दुवै क्याम्पसलाई एकीकरण (मर्ज) गर्ने निर्णयमा पुगे । १७ महिना लामो प्रयासपछि अहिले उक्त निर्णयले सार्थकता पाएको छ । अर्थात् गुप्तेश्वर र शिवालय मर्ज भएर अहिले कुश्मा बहुमुखी क्याम्पस बनेको छ । ‘कुश्माको एकताका लागि ‘कुश्मा बहुमुखी क्याम्पस’, एकीकरण कार्यदलका संयोजक गोविन्द पहाडीले फेसबुकमा लेखेका छन् । दुवै क्याम्पसका संञ्चालक समिति तथा साधारण सभाबाट पहाडीलाई कार्यदलको संयोजक तोकिएको थियो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको अध्यक्षतामा रहने कार्यकारीणी समितिको यही माघ ३ गतेको बैठकले दुवै क्याम्पसलाई एकीकरणको स्वीकृति दिएसंगै कुश्मा बहुमुखी क्याम्पस बन्न पुगेको हो । २०८० साउनदेखि सुरु एकीकरण प्रक्रियाले अहिले आएर पूर्णता पाएको हो । ‘हामीले लामो प्रयत्न पश्चात् कुश्मा क्षेत्रको सामुदायिक, भौगोलिक, राजनीतिक र भावनात्मक एकताको उदाहरण हुनेगरी साविकका २ क्याम्पसलाई एकीकरण गरी कुश्मा बहुमुखी क्याम्पस बनाउन सफल भएका छौ’, पहाडी भन्छन, ‘हामीले हाम्रो चाहना र योजना अनुसारको एकीकरणका लागि त्रिभुवन विश्वविद्यालयको नीति परिवर्तनमा समेत प्रभावित गर्न सक्षम भयौ । यो खुशीको कुरा हो ।’ त्रिविविका अनुसार समान हैसियतमा संचालित क्याम्पसहरुको यसप्रकारको भावनात्मक एकतासाथ एकीकरण भएको यो पहिलो घटना भएको पहाडीले बताए । आआफ्नै पृष्ठभूमी, इतिहास र अनुभव भएका २ वटा क्याम्पसको एकीकरणको जिम्मा दिएकोमा त्यो पुरा भएको भन्दै उनले खुशी व्यक्त गर्दै अव कुश्मा क्षेत्रको सामथ्र्य, पहुँच, अनुभव, योग्यता र सामुहिक पहलकदमीबाट कुश्मा बहुमुखी क्याम्पस प्रभावकारी रुपले संचालन हुने आशा पनि व्यक्त गरेका छन । नयाँ नामाकरणसंगै क्याम्पसको तदर्थ व्यवस्थापन समिति गठनको प्रक्रिया पनि सुरु भएको छ ।
पहाडी नेपाल पब्लिक क्याम्पस संघ जिल्ला अध्यक्ष पनि हुन् । साथै शिवालय क्याम्पस संचालक समितिको पूर्व अध्यक्ष पनि थिए । कार्यदलमा बसन्तकुमार कर्माचार्य, हरिओम शर्मा लामिछाने, मथुराकुमार जोशी, इश्वर गिरी, बिष्णुप्रसाद नेवार, डा.चुडामणी शर्मा, कमलनाथ पोखरेल, केदारनाथ शर्मा, सरस्वती भण्डारी र उमादेवी कुमाल सदस्य थिए । एकीकरण कार्यदलसंगै विभिन्न ८ वटा उपसमिति पनि बनाइएको थियो । भोलानाथ शर्माको संयोजकत्वमा बिधान मस्यौदा उपसमिति, कमलनाथ शर्माको संयोजकत्वमा ईतिहास लेखन, इन्द्रमान खत्रीको संयोजकत्वमा चन्दादाता संकलन, पृथ्वीनारायण शर्माको संयोजकत्वमा जनशक्ति आवस्यकता लेखाजोखा तथा नियुक्ति सिफारिश, मिनप्रसाद श्रेष्ठको संयोजकत्वमा जिन्सी सम्पत्ति अभिलेख संकलन उपसमिति गठन गरिएको थियो । साथै बिषमकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक अभियान संचालन, बिष्णु नेवारको संयोजकत्वमा समुदाय सम्बन्ध परिचलान र कमलनाथ पोखरेलको संयोजकत्वमा आन्तरिक लेखा परीक्षण उपसमिति पनि गठन गरिएको थियो ।
त्रिविविले यसअघि क्याम्पस मर्जको मोडेल भन्दा फरक ढंगले कुश्माका यी दुई क्याम्पस एकीकरण भएका हुन् । यसअघिको मोडेलमा एउटा क्याम्पसमा अर्को बिलय हुनुपर्ने अवस्था थियो । अहिले भने दुवैलाई मिलाएर तेस्रो नामाकरण गर्न सफल भएको पहाडीले बताए । ‘पहिला ए मा बि जानेकी बिमा ए गएर बिलय हुने भन्ने हुन्थ्यो । अहिले भने ए र बि एकै ठाउँमा भएर सिको जन्म भएको हो’ उनले भने, ‘समुदायको भावना, स्थापनका पृष्ठभूमी, चन्दादाताको भावना, राजनीतिक, भौगोलिक प्रतिस्पर्धालाई चिरेर यो अवस्थामा आइपुग्यौ ।’ हाललाई दुवै भवनतिर क्याम्पसको पढाई हुनेछ । पहिला एउटा विषय दुई तिर पढाइ हुन्थ्यो भने अव एकै ठाउमा मात्र पढाउने योजना रहेको छ । यसले प्रशासनिक खर्च आधा कटौती हुने विश्वास लिइएको छ ।
बिधान मस्यौदा उपसमितिका संयोजक एवं अधिवक्ता भोलानाथ शर्माले दुईवटा क्याम्पस छुट्टाछुट्टै संचालन हुनै नसक्ने अवस्था आएपछि एकीकरणको बिकल्प नरहेको बताए । ‘अव कुश्मामा पहिलाको जस्तो ‘तल’ र ‘माथि’ भने भेगिय भावना वा दृष्टिकोण रहने छैन’ शर्माले भने, ‘जे भयो राम्रो भयो ।’
गुप्तेश्वर बहुमुखीमा स्नात्तकोत्तर तहमा एमबिएस र स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकायको पढाई हुन्थ्यो । हाल यस क्याम्पसमा २५० विद्यार्थी रहेको क्याम्पस प्रमुख सुवास पन्तले बताए । ‘स्थानीयदेखि कुनै पनि सरकारले हेरेनन्, विद्यार्थी पनि कम हुदै गएपछि एकीकरणमा जानु परेको हो’ उनले भने ।
शिवालय बहुमुखी क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले पनि विद्यार्थी संख्या कम हुदै गएपछि मर्जमा जानु परेको बताए । उनका अनुसार बिएड र विवियसको पढाई हुने क्याम्पसमा २६८ विद्यार्थी छन् । पर्वतमा १२ वटा क्याम्पस संचालनमा रहेका छन् । तर विद्यार्थी संख्या घट्दै गएपछि ती क्याम्पस संचालनमा समस्या हुदै गएको छ । ढोरपाटनबाट साभार
फेसबुक प्रतिक्रियाहरु