• होमपेज
  • सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?
Breaking News

सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?

कैलाली । नेकपमा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको सम्भावनाबारे चर्चा हुन थालेको छ । केन्द्रमा देउवा सरकारलाई साथ दिएको पुरस्कारस्वरूप माधव नेपालको एमाले-समाजवादीलाई मुख्यमन्त्री दिन कांग्रेसका नेताहरू सकारात्मक देखिएका छन् ।

प्रदेशमा सभामुखसहित एमालेका २५ सांसदमध्ये नेपाल/रावल पक्षमा १७ सांसद खुलेका थिए । ओली पक्षमा भने ७ जनामात्रै थिए । तर, माधव नेपालले एमाले-समाजवादी पार्टी दर्ता गरेपछि नेपाल र रावल पक्षमा रहेका सांसदहरू पनि आपसमा विभाजित भएका छन् ।

विज्ञापन

प्रदेशसभामा रहेका दुईजनामात्रै एमाले समाजवादी पार्टीको केन्द्रीय कमिटीमा परे । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्व वन तथा वातावरण मन्त्री माया भट्ट केन्द्रीय सदस्य बनेका हुन् ।

कैलालीमा माधव समूहका अध्यक्ष रहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी बुधबार काठमाडौंको अर्याल होटेलमा भएको माधव नेपाल पक्षको भेलामा समेत सहभागी थिए । तर, उनी केन्द्रीय कमिटीमा बसेनन् । उनी नेपाल र रावलसँगै हुनुपर्ने पक्षमा छन् ।

‘जता भए पनि रावल र नेपालसँगै हुन पर्छ । दुवै हाम्रा नेता हुन्,’ उनी भन्छन्, ‘प्रदेशमा बहुमत सदस्यहरूको भावना पनि त्यही छ ।’

तर, नेपाल र रावल अब सँगै हुनसक्ने सम्भावना कम रहेको नेपालनिकट केही सांसदहरूको आँकलन छ ।

‘नवौँ महाधिवेशनपछि नेपाल र रावल सँगै हुनुहुन्थ्यो । ओलीको प्रतिगमनविरुद्ध पनि उहाँहरू दुवैजना निकै खरोरुपमा उत्रिनुभएको थियो,’ नेपालनिकट एक नेताले भने, ‘नेपालले नयाँ पार्टी तयार गर्दा रावलले साथ दिनुभएन । सायद अब दुवै सँगै नहुन सक्छन् ।’

रावलनिकट सुदूरपश्चिम संसदीय दलका नेताले आफू एमालेमै रहने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका दलका नेता प्रकाश शाह एमालेका केन्द्रीय सदस्य समेत हुन् । बुधबार उनी नेपालले बोलाएको भेलामा पनि सहभागी भएनन् । उनी पनि विगतमा नेपाल रावलसँगै थिए । तर, माधव नेपालले नयाँ पार्टी निर्माण गरेपछि उनले एमाले छोड्न नसकिने बताएका छन् ।

यसअघि नेपाल पक्षमा रहेका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमाले-समाजवादीमा गएनन् । नवौँ महाधिवेशनमा नेपाल पक्षमा रहेर पछि ओली पक्षमा खुलेका डोटीबाट निर्वाचित प्रेम आले भने एमाले-समाजवादी नेपालका विश्वास पात्र भएका छन् । उनी केन्द्रीयसमेत समेत भए ।

‘अहिले नै को कता छन् भन्न सकिने अवस्था छैन । अहिलेसम्म दुईजनामात्रै देखिनुभएको छ’ ती नेता भन्छन्, ‘केही दिनभित्रै सबै प्रष्ट हुन्छ ।’

भीम रावल एमालेमा रहने अवस्थामा प्रदेशमा शाहसँगै सोडारी पनि एमालेमा रहँदा नयाँ पार्टीमा लाग्ने संख्या कम हुनेछ । तर, रावललाई सोडारीले साथ नदिएको अवस्थामा भने नेपाल पक्ष पनि कमजोर नहुने आँकलन गरिएको छ ।

मुख्यमन्त्रीमा नेकपा (एमाले-समाजवादी) को सम्भावना

शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न एमालेभित्रको माधव पक्षले साथ दिएको थियो । नेपालले एमाले छोडेर एमाले- समाजवादी गठन गरेपछि अब संघीय सरकारमा सामेल हुने छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमै दावी गर्न सक्ने बताइएको छ ।

सुदुरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिन एमाले केन्द्रीय कमिटीले संसदीय दललाई निर्देशन दिएको थियो । तर, त्यो निर्देशन उल्लंघन गर्दै नेपाल पक्षले सरकारलाई विश्वासको मत हालेका थिए । त्यसको गुन तिर्नका लागि माधव पक्षलाई मुख्यमन्त्री दिन माओवादी लचिलो हुन सक्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशमा नेपालले बहुमत सांसद आफ्नो पक्षमा राख्ने दावी गर्दै आइरहेका छन् । अल्पमतमै रहे पनि अन्य दलको समर्थनमा एमाले समाजवादी सरकारको नेतृत्व गर्न इच्छुक देखिएको हो । नेपालले छुट्टै दल बनाएपछि अब मुख्यमन्त्रीको सम्भावना रहेको नेपाल पक्षका तर एमाले नछाडेका सांसदहरू बताउँछन् । यस्तो अवस्थामा मुख्यमन्त्रीमा सबैभन्दा बलियो दावी दीर्घ सोडारीको हुने छ ।

सोडारी एमाले छोडेर एमाले समाजवादीमा गएको अवस्थामा प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना झन् बढी रहेको उनीनिकटका नेताहरू बताउँछन् ।

कांग्रेसले पनि अब सरकारको विषयमा छलफल शुरू भएको बताएको छ । ‘हिजोसम्म नेपाल पक्षको विषयमा अन्योल रहेको थियो, अब प्रष्ट भयो’ कांग्रेसका एक नेताले भने ‘अब सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुन सक्छ ।’

‘नेपालले नेतृत्व गरेको पार्टीका कसैले पनि मुख्यमन्त्री पाएका छैनन् । उनले गठबन्धनमा सुदूरपश्चिममा मुख्यमन्त्रीको दावी गर्दा पाउने सम्भावना छ,’ उनीनिकटका नेता भन्छन् ‘यस्तो अवस्थामा नेपाललाई सोडारीले साथ दिए भने मुख्यमन्त्री बन्न सक्छन् ।’

सोडारी बुधबार अर्याल होटेलमा भएको बैठकमा समेत सहभागी थिए । जसपाका दुई सांसद मालामति कुमारी राना र कृष्ण चौधरी पनि महन्थ ठाकुरको साथ छोडेर उपेन्द्र यादवको पक्षमा देखिएपछि प्रदेशमा गठबन्धन थप बलियो भएको हो । तर, जसपा अहिले नै प्रदेश सरकारमा जाने बिषयमा छलफल नभएको रानाले बताइन् ।

‘हामी सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा अझै निर्णय भएको छैन’ उनले भनिन्, ‘पार्टीले गरेको निर्णय हामी मान्छौँ ।’

कांग्रेसले पनि अब सरकारको विषयमा छलफल शुरू भएको बताएको छ । ‘हिजोसम्म नेपाल पक्षको विषयमा अन्योल रहेको थियो, अब प्रष्ट भयो’ कांग्रेसका एक नेताले भने ‘अब सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुन सक्छ ।’

यसअघि कांग्रेसले मुख्यमन्त्रीमा दावी गर्न खोजेको भए पनि अब एमाले समाजवादीको मुख्यमन्त्री बन्नसक्ने उनी बताउँछन् ।

‘एमाले समाजवादीका सांसद कम भए पनि केन्द्रीय गठबन्धनलाई बलियो बनाउन यहाँ मुख्यमन्त्री दिनुपर्ने हुन सक्छ,’ उनले भने, ‘त्यसको लागि उहाँहरूबाट कस्तो प्रस्ताव आउँछ भन्ने हो ।’

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । माओवादीबाट एमालेमा प्रवेश गरेर झपट बोहरा पदमुक्त भएपछि हाल सांसदको संख्या ५२ छ । सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । हाल माओवादीमा १३, कांग्रेसमा १२ र एमाले समाजवादीमा खुलेका दुई सांसद छन् । यी तीन दल मिलेरै प्रदेशमा सरकार बनाउन सक्ने अवस्था देखिएको छ ।

यस्तो छ केन्द्रीय सदस्यको कित्ताकाट

एमालेका केन्द्रीय सदस्यमध्ये सुदूरपश्चिमबाट गरिमा शाह, प्रेम आले र निरा जैरुमात्रै एमाले समाजवादीमा गएका छन् । यसअघि माधव पक्षमै रहेका भीम रावल, झपट रावल, विक्रम शाही, रामकुमार ज्ञवाली, भानुभक्त जैसी र प्रकाश शाहले भने एमाले छोडेका छैनन् । जैसीको नाम केन्द्रीय कमिटीमा राखिएको भए पनि उनले असहमति जनाइसकेका छन् ।

एमालेमा अहिले लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा

राष्ट्रियसभामा सुदूरपश्चिमबाट एमालेका चारजना सहभागी छन् । तीमध्ये कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही र कैलालीकी शारदा भट्ट एमालेमै रहेका छन् । अछामका शेरबहादुर कुँवरले भने नेपाल पक्षलाई साथ दिने बताइएको छ । तर, एमाले-समाजवादीको कमिटीमा उनी छैनन् ।

प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद थिए । तीमध्ये कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी एमालेमै छन् ।

यसअघि नेपाल पक्षमा रहेका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमाले-समाजवादीमा गएनन् । नवौँ महाधिवेशनमा नेपाल पक्षमा रहेर पछि ओली पक्षमा खुलेका डोटीबाट निर्वाचित प्रेम आले भने एमाले-समाजवादी नेपालका विश्वास पात्र भएका छन् । उनी केन्द्रीयसमेत समेत भए ।

एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जनामध्ये कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु नेपाल पक्षमा छन् । जैरु केन्द्रीय सदस्य हुन् भने चौधरी कमिटीमा छैनन् । ओलीले कारबाही गरेका १४ जनामध्ये चौधरी पनि एक हुन् । यसअघि ओली पक्षमा रहेकी कञ्चनपुरकी विना बुढाथोकी पनि अहिले नेपालसँगै छिन् । उनी पनि कमिटीमा छैनन् ।

समानुपातिकमध्ये कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विकमात्रै एमालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook