• होमपेज
  • पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्
Breaking News

पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्

काठमाडौं । खड्गप्रसाद ओली तिनै व्यक्तिको नाम हो, जो अहिले नैतिकता पचाएर प्रधानमन्त्री पदमा बसिरहेका छन् ।

५ पुस २०७७ मा उनी नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको प्रतिनिधिसभा विघटन भयो । तर, ११ फागुनमा सर्वोच्च अदालतले खड्गप्रसाद सरकारको निर्णय बदर गर्दै प्रतिनिधिसभा पुनस्र्थपना गर्ने फैसला गर्यो ।

विज्ञापन

आफ्नै सरकारले गरेको निर्णय उल्टिँदासम्म ओलीलाई अहिलेसम्म आफूसँग नैतिकता बाँकी छ भन्ने लागेको छैन । बरु भनिरहेका छन्, ‘अविश्वासको प्रस्तावको सामना गर्छु, राजीनामा किन दिने ?’

हुन त नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको धेरै वर्ष भइसक्यो । ओलीलाई नैतिक शिक्षाको जति जरुरत छ, उति नै उनका सल्लाहकार र उनीपक्षीय नेताहरुमा पनि देखिएको छ ।

खड्गप्रसादले नैतिकतालाई कसरी सजिलै पचाइरहेका छन् ? त्यसअघि उनको इतिहासबारे थोरै चर्चा गरौँ ।

खड्गप्रसाद ओली नेकपा एमालेको नवौा महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएसँगै चर्चा आएका नेता हुन् । त्यसो त त्यसअघि एमाले स्थायी कमिटि सदस्य हुँदा पनि उखान टुक्का भनेर हसाउने शैलील उनी परिचित नभएको भने होइन ।

खड्गप्रसाद आठौँ महाधिवेशनमा पनि निर्वाचन लडेका थिए, तर उनको लज्जासपद हार भयो । त्यसो त, नवौँ महाधिवेशनमा पनि निर्वाचन प्रक्रिया अनावश्यक रुपमा लम्ब्याएर जितेका हुन्, ओलीले । त्यसबारे नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष माधव नेपालले भनेका छन्, ‘नवौँ महाधिवेशनमा पनि ओली हारेका मान्छे हुन्, झेली गरेर जितेका हुन्, निर्वाचन प्रक्रिया अनावश्यक रुपमा लम्ब्याएर १ सयभन्दा बढी विदेशबाट आएका मेरा प्रतिनिधिलाई फर्काएर ओलीले जितेका हुन् ।’

नवौँ महाधिवेशनबाट अध्यक्ष बनेपछि ओलीमा ‘दम्भ’ चढ्दै गयो । पार्टी कमिटि र निर्णय प्रक्रियामा उनले एकतन्त्रीय शासन लागू गरे । सबै कमिटिबाट माधव नेपाल समुहलाई भित्तामा पुर्याउने खेल थाले । उनी पार्टीमा एकतन्त्रीय शासन चलाउन थाले ।

यति हुँदाहुँदै उनी २०७२ सालमा संविधान जारी भयो । त्यसपछि नेकपाका अध्यक्ष प्रचण्डको प्रस्तावमा उनी प्रधानमन्त्री भयो । त्यतिबेला तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र ओलीबीचको सहमति थियो, ‘९ महिनापछि प्रचण्डलाई सरकार चलाउन दिने ।’ त्यसका साक्षी तत्कालीन एमालेका नेताहरु वामदेव गौतम, विष्णु पौडेल लगायत थिए । तर, ९ महिनामा ओली सरकार छाड्न तयार भएनन् ।

जतिसुकै आग्रह गर्दा पनि नमानेपछि अन्तत उनलाई कांग्रेससँग मिलेर प्रचण्डले सरकारबाट हटाए । त्यतिबेला ओली सरकारबाट हट्न तयार भएका थिएनन् । संसद्मा फेस गर्छु भन्दै विभिन्न उखान टुक्का सुनाइरहेका थिए । तर, संसद्मा विश्वासको मत लिन नसक्ने भएपछि उनले अन्तिममा राजीनामा दिए ।

त्यसो त, एमाले अध्यक्षको हैसियतमा उनको कार्यकाल सकिनै लाग्दा उनमा छटपटी देखिएको तत्कालीन एमाले नेताहरु सुनाउँछन् । यसैबीच उनले पार्टीको १० औँ महाधिवेशनमा पुग्दा अध्यक्षबाट हार्ने निश्चित देखेपछि तत्कालीन माओवादीसँग एकता गर्दै ‘अध्यक्ष’ पद सुरक्षित गरे । त्यही एकताको जगमा उनी अहिले प्रधानमन्त्री छन् ।

अहिले पनि ओलीले आफ्नो निर्णय बदर भएपछि राजीनामा दिनुपर्ने हो । तर, त्यसो भइरहेको छैन । बरु उनले विश्वासको मत लिने भनिरहेका छन् । उनले विश्वासको मत लिने संसद त्यही हो, जसको उनले असंवैधानिक तरिकाबाट विघटन गरेका थिए ।

अब उनले विघटन गरेको संसदमा कुन मुखले विश्वासको मत लिने ? कुन नैतिकताले विश्वासको मत लिने ? यसबाट पुष्टि हुन्छ, खड्गप्रसाद पदका भोगी हुन्, उनी नैतिकता पचाएर भए पनि अन्तिम समयसम्म पदमा रहिरहन चाहन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook