• होमपेज
  • हुवावे र जेटिईमाथि प्रतिबन्ध लगाउँदै स्विडेनले भन्यो- चीन राष्ट्रिय सुरक्षाका लागि खतरा
अन्तर्राष्ट्रिय

हुवावे र जेटिईमाथि प्रतिबन्ध लगाउँदै स्विडेनले भन्यो- चीन राष्ट्रिय सुरक्षाका लागि खतरा

राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भन्दै स्विडेनले मंगलबार चिनियाँ संचारप्रविधि कम्पनी हुवावे टेक्नोलोजी र जेटिई कर्पोरेशनको फाइभ जी प्रविधिलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
स्विडेनको यो निर्णयका विरूद्ध बेइजिङले अपेक्षितरूपमा कडा प्रतिक्रिया जनाएको छ।

स्विडेनको यस कदमले चीनमा काम गरिरहेको स्विडेनको टेलिकम्युनिकेसन कम्पनी एरिक्सनसँगको व्यापार भविष्यमा प्रत्यक्ष असर पर्ने ठानिएको छ। फाइभजी प्रविधिमा एरिक्सन हुवावेको निकट प्रतिष्पर्धी कम्पनी हो।

विज्ञापन

स्वीडिस सरकारले अर्को महिना बोलकबोलमा भाग लिन लागेका देशका टेलिकम्युनिकेसन कम्पनीहरूलाई हुवावे र जेटिईका सामानहरूलाई आफ्नो पूर्वाधारहरूबाट सन् २०२५ को जनवरी १ सम्म हटाउन भनेको छ।

स्विडेनको सशस्त्र बल र सुरक्षा सेवाहरूले चीनलाई ‘स्विडेनविरूद्ध सबैभन्दा ठूलो खतरामध्येको एक’ बताएको छ।

स्विडेनको यो निर्णय चिनियाँ कम्पनीका सबैकिसिमका उत्पादनहरूको प्रयोगमा लागु हुनेछ जबकी चिनियाँ प्रविधिमाथि रोक लगाएका अन्य मुलुकहरूले चिनियाँ कम्पनीका संचार प्रविधिमा पूर्णरूपमा रोक भने लगाएका छैनन्।

विज्ञहरूले यसलाई चीनको प्रतिकारात्मक कदमका विरूद्ध उनीहरूको रणनीतिक कदम बताउने गरेका छन्।

जर्मनी यसो गर्ने राष्ट्रमध्येको एक हो। प्रतिबन्धका कारण चीनबाट हुनसक्ने सम्भावित बदलाका कदमहरू रोक्न जर्मन चान्सलर एन्जेला मर्केलले हालै ल्याउन लागिएको नयाँ आईटी सुरक्षा ऐन रोकेको आरोप छ। हुवावेले जर्मन कम्पनी डोइज टेलिकमसँग निकटरूपमा एकसाथ काम गरिरहेको छ र मर्केलले रोकेको भनेको ऐनले हुवावेलाई जर्मनीमा उसको प्रविधिको प्रयोगमा सिमितता लगाउन सक्ने बताइएको छ।

त्यस्तै जुलाईमा ब्रिटेनले हुवावेको सामानहरूलाई आफ्नो फाइभजी नेटवर्कबाट सन् २०१७ सम्म पूर्णरूपमा हटाउन आदेश दिएको थियो। ब्रिटेन यस्तो गर्ने युरोपको पहिलो मुलुक हो।

इटालीले पनि देशका संचार कम्पनीहरूलाई आर्थिकरूपमा महँगो बनाएर चिनियाँ प्रविधिलाई देशमा आउन नदिने कुटनीतिक कदम चालेको छ।

चीन-युरोप सम्बन्धका विज्ञ टिम रुलिख स्वीडिस अधिकारीहरूले हुवावेलाई सक्नेजति प्रतिबन्ध लगाएको बताउँछन्।

‘स्विडेनले पनि इटालीले जस्तै गरी मौनरूपमा हुवावेलाई प्रतिबन्ध लगाउन सक्थ्यो। तर आजको निर्णयले स्विडेन स्पष्ट अडान लिन तयार रहेको देखाउँछ’, रूलिखले भने।

त्यसैगरी अर्का विज्ञ ज्यान वाइडनफेल्डले फाईभजीमा युरोपले भाले जुधाईंमा लागेको बताए।

‘स्विडेन जस्ता ठूलो अर्थतन्त्र भएका मुलुकहरू यति बलियो धारणासहित यस्तो संवेदनशिल विषयमा आउनुले युरोपले यो विषयमा कसरी सोच्छ भन्ने देखाएको छ’, उनले भने।

चीनको मुख्यभूमिमा जन्मिएका र हङकङमा किताबको कारोवार गर्ने स्विडिस नागरिकलाई बेइजिङले सन् २०१५ मा समातेपछि दुबै देशको कुटनीतिज्ञ सम्बन्ध तनावको अवस्थामा छ। ती स्वीडिस नागरिकलाई बेइजिङले अनिधिकृतरूपमा देशको सूचना विदेशीलाई बेचेको आरोपमा १० वर्षको कारावास सजाय सुनाएको छ।

स्विडेनको यो कदमलाई विज्ञहरूले अस्वभाविक मानेका छैनन्। चीनले स्विडेनलाई कडारूपमा निर्णयमाथि पुनरावलोकन गर्न माग गरिसकेको छ।

प्रतिक्रिया स्वरूप चीनको दूरसंचार निमायक संस्थाले त्यहाँ काम गरिरहेका विदेशी दूरसंचार कम्पनीहरूमाथि कडा निगरानी गर्ने भन्दै विज्ञप्ति जारी गरिसकेको छ।

एरिक्सन हुवावेपछि विश्वमा फाईभजी प्रविधिको दोश्रो ठूलो वितरक हो। एरिक्सन चीनमा फाइभजी प्रतिष्पर्धामा छनौट हुने एकमात्र विदेशी कम्पनी हो। चीनको फाईभजी प्रविधिको बजारमा एरिक्सनको ११ प्रतिशत हिस्सा छ।

स्टकहोमस्थित चिनियाँ दूतावासले हुवावे र जेटिई स्विडेनको राष्ट्रिय सुरक्षामाथिको खतरा भएको भन्ने आरोपलाई अस्वीकार गरेको छ।

उसले स्विडेन सरकारलाई खुला र निष्पक्ष बजारको सिद्धान्तलाई ध्यानमा राख्दै प्रतिबन्धको निर्णयमा पुनः विचार गर्न भनेको छ।

चीन सरकारले हुवावे कम्पनी स्वतन्त्र व्यापारिक कम्पनी भएको सरकारसँग नजोडिएको बताउँदै आएको छ।

हुवावे कम्पनीका प्रवक्ताले पनि स्वीडिस सरकारको आरोपको आलोचना गरेका छन्। उनले आरोपमाथि कुनै सत्यता नभएको र त्यो आफूहरूका लागि अस्वीकार्य भएको बताए।

जेटिईले भने यसमा कुनै प्रतिक्रिया दिइसकेको छैन।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook