• होमपेज
  • लकडाउनमा मोबाइल बैङ्किङका प्रयोगकर्ता बढे
अर्थ खबर

लकडाउनमा मोबाइल बैङ्किङका प्रयोगकर्ता बढे

२२ असार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न गरिएको लकडाउनको समयमा बैङ्किङ प्रविधिप्रति आकर्षण बढेको छ । पछिल्लो ३ महिनाको तथ्याङ्कले बैङ्किङ प्रविधि प्रयोगकर्ता करिब चार गुणाले बढेको देखाएको छ ।

बैङ्कर एसोसिएसनका अनुसार २०७४ वैशाखसम्म २६ लाख जनामात्रै रहेका मोबाइल बैङ्किङका ग्राहक त्यसयताको समयमा बढेर एक करोड ६ लाख पुगिसकेका छन् ।

विज्ञापन

लकडाउनका कारण बैङ्किङ कारोबार गर्नका लागि बैङ्कको शाखा कार्यालयसम्म जान कठिन हुने र सुरक्षाको हिसाबले समेत मोबाइल बैङ्किङतर्फ आकर्षण बढेको हुन सक्ने बैङ्करहरूको बुझाइ छ ।

समयको बचत हुने र सरल तरिकारले कारोबार गर्न सकिने भएकाले अबको प्राथमिकता प्रविधि नै हुनु पर्ने बैंकर एसोसिएसनका सदस्य जनक शर्मा पौड्याल बताउँछन् ।

प्रविधिमा विश्वभर नै चुनौती रहे पनि यसबाट कोही डराउन नहुने उनले बताए । नेपालमा पछिल्लो समय भएका केही घटनाका आधारमा प्रविधिलाई असुरक्षित छ भन्न नमिल्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रविधिको जतिसक्दो उपभोग गर्नुपर्ने बताउँदै आएको छ । लकडाउन भएको तीन महिने अवधिमा आठ लाखभन्दा बढी मोबाइल बैङ्किङका प्रयोगकर्ता थपिएका छन् । फागुन मसान्तसम्म मोबाइल बैङ्किङका प्रयोगकर्ता ९८ लाख ६ हजार २३७ जना थिए । जेठ मसान्तसम्म आइपुग्दा यो संख्या बढेर एक करोड ६ लाख ७० हजार ७२ पुगेको छ ।

इन्टरनेट बैङ्किङका प्रयोगकर्ता पनि यस अवधिमा १३ हजार बढेका छन् । फागुन मसान्तसम्म ९ लाख ६९ हजार ५५ रहेका इन्टरनेट बैङ्किङका प्रयोगकर्ता ९ लाख ९२ हजार ७२४ पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

कार्ड प्रयोगकर्ताको संख्या पनि राम्रै बढिरहेको राष्ट्र बैङ्कले बताएको छ । राष्ट्र बैङ्कका अनुसार लकडाउनकै अवधिमा पनि डेबिट कार्ड प्रयोगकर्ताको संख्या २७ हजार थपिएका छन् । फागुन मसान्तसम्म ७२ लाख १५ हजार ६४६ रहेको डेबिट कार्डको संख्या बढेर जेठ मसान्तसम्म ७२ लाख ४३ हजार १५३ पुगेको राष्ट्र बैङ्कले बताएको छ ।

यस अवधिमा क्रेडिट कार्ड प्रयोगकर्ता १० लाखले बढेका छन् । फागुन मसान्तसम्म एक लाख ४६ हजार रहेको क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या जेठ मसान्तसम्म बढेर एक लाख ५६ हजार ७४९ पुगेको छ ।

बैङ्क खाता तीन करोड १८ लाख

बैैङ्क खाताको संख्या भने मुलुकको जनसंख्याभन्दा धेरै छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या तीन करोड नाघिसकेको छ । तर बैङ्क खाता खोल्नेको संख्या भने ३ करोड १८ लाखभन्दा बढी पुगिसकेको छ ।

एक व्यक्तिले अनेक खाता खोल्ने भएकाले जनसंख्याभन्दा १८ लाख बढी निक्षेप खाता संख्या पुगेको हो ।

हालसम्म मुलुकका ६१ प्रतिशत नागरिकमात्रै बैङ्किङ पहुँचमा रहेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । जेठ मसान्तसम्म बैङ्क निक्षेप खाताको संख्या तीन करोड १८ लाख ८५ हजार ७७९ पुगेको छ ।

सबभन्दा धेरै वाणिज्य बैङ्कहरूको दुई करोड ६५ लाख ६८ हजार २९९, ‘ख’ वर्गका ४६ लाख ६८ हजार ३६३ र ‘ग’ वर्गमा ६ लाख ४९ हजार ११७ निक्षेप खाता पुगेका छन् ।

यस अवधिमा कर्जा खाताको संख्या पनि १५ लाख २५ हजार ४३५ पुगेको छ । गत फागुन मसान्तसम्म यस्तो खाता संख्या १४ लाख ९८ हजार ४६७ पुगेको छ । निक्षेप खाताको तुलनामा कर्जा खाता वृद्धिदर एकदमै कम हो ।

यस अवधिमा शाखारहित सेवाको संख्या एक हजार ५८६ पुगेको छ । फागुन मसान्तसम्म शाखारहित सेवा केन्द्रहरू एक हजार ५७७ थिए ।

एटीएमको संख्या पनि क्रमिक रुपले बढ्दै गएको छ । फागुन मसान्तसम्म ३ हजार ६६२ रहेको एटीएमको संख्या जेठ मसान्तसम्म बढेर ३ हजार ९४५ पुगेको राष्ट्र बैङ्कले बताएको छ ।

एटीएमबाट एक महिनामा २२ अर्ब झिकियो

नेपालमा एटीएम प्रयोगकर्ताहरुको संख्या पनि निकै बढेको छ । गत जेठमा मात्र सेवाग्राहीले २२ अर्ब ७ करोड रुपैयाँ एटीएमबाट झिकेका थिए । त्यस्तै, गत चैतमा एटीएमबाट ९ अर्ब ४ करोड रुपैयाँ झिकिएको थियो ।

जेठमा एटीएमबाट २५ लाख २० हजार ५१७ वटा र चैतमा १० लाख ३७ हजार ९०१ वटा कारोबार भएका थिए । वैशाखमा ह्वात्तै एटीएम बढेर ३० लाख २० हजार ५५६ पुगेको थियो । जेठको कारोबार भने वैशाखको तुलनामा केही घटेको छ ।

मोबाइल बैङ्किङ कारोबार रकम र संख्या पनि राम्रै बढेको छ । जेठमा मात्र मोबाइल बैङ्किङबाट १२ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

तालिकाः-

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook