• होमपेज
  • कुश्मा नगरपालिकाको आगामी बजेट ९२ करोड १२ लाख, पैंयुँ गाउँपालिकाको बजेट ४१ करोड २ लाख
Breaking News

कुश्मा नगरपालिकाको आगामी बजेट ९२ करोड १२ लाख, पैंयुँ गाउँपालिकाको बजेट ४१ करोड २ लाख

 पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ ।

शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट ९२ करोड १२ लाख ७२ हजारको बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित रकममध्ये नगर सभाद्वारा बाँडफाँटयोग्य रकम ३९ करोड ४५ लाख मध्ये चालु खर्च तर्फ एकमुष्ट १५ करोड १६ लाख र पुँजीगत खर्चतर्फ वडागत योजना तथा कार्यक्रमका लागि पाँच करोड १५ लाख विनियोजन भएको छ ।

विज्ञापन

नगरस्तरीय पूर्वाधार कार्यक्रममा पाँच करोड ८० लाख, सामाजिक विकासतर्फ तीन करोड १४ लाख, आर्थिक विकास तर्फ एक करोड ३० लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा एक करोड ३० लाख, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन तर्फ एक करोड १० लाख, समपूरक कोषतर्फ १ करोड ५० लाख विनियोजन भएको छ । यस्तै चालु आर्थिक वर्षमा भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको छ ।

चालुतर्फ ५५।७७ प्रतिशत र पुँजीगत ४४।२३ प्रतिशत विनियोजन भएको छ। सङ्घीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित शसर्त, समपूरक र विशेष अनुदान तर्फका ५२ करोड ६७ लाख ७२ हजार बराबरका योजना तथा कार्यक्रमहरू तोकिए बमोजिम नै खर्च हुने छ ।

केरा पकेट विकास कार्यक्रम, कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अद्यावधिक कार्यक्रम, रैथाने वाली प्रवर्द्धन कार्यक्रम, किसान सूचीकरण, एक गाउँ एक प्राविधिक लगायतका कार्यक्रम सञ्चालन गर्ने ६० लाख ८८ हजार, नगर प्रमुखसँग उद्यमशीलता कार्यक्रमका लागि ३० लाख, नगरप्रमुख रोजगार कार्यक्रमका लागि १० लाख विनियोजन हुँदा युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजनामा सङ्घीय सरकारबाट ५८ लाख बजेट प्राप्त भएको छ ।

शिक्षाको विकासका लागि पूर्वाधार, शैक्षिक सुधार र शिक्षकहरूको तालिम, विद्यालय स्तरमा वार्षिक परीक्षा सञ्चालन, उत्कृष्ट अङ्क हासिल गर्ने शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन भएको नगर उपप्रमुख रिजालले जनाएकी हुन् ।

नगर प्रमुखसँग विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम र स्वर्णिम अवकाश योजना मार्फत अवकाश लिने शिक्षकलाई प्रोत्साहन गर्न ३० लाख बजेटको विनियोजन भएको छ । विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन १७ लाख ९४ हजार, विद्यार्थीलाई दिवा खाजाको लागि ७५ लाख ६८ हजार, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा खेलकुदका लागि ३० लाख तथा सुत्केरीसँग उपप्रमुख कार्यक्रम लाई निरन्तरता दिन १२ लाख रुपैयाँ विनियोजन भएको छ ।

नगरको प्रशासनिक भवन निर्माण गर्नका लागि पाँच करोड, सबै वडाको सडक, सिँचाइ, खानेपानी पूर्वाधार निर्माणको लागि पाँच करोड १५ लाख, रणनीतिक महत्त्व बोकेका स्थानहरूमा झोलुङ्गे पुलको निर्माणका लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । प्रकोप व्यवस्थापन कोषमा ५० लाख, मनसुनजन्य विपत् पश्चात् निर्माण गरिने आवासमा समपूरकका लागि ५० लाख, फोहर मैला व्यवस्थापनका लागि ३० लाख, न्यायिक समितिलाई प्रभावकारी बनाउन १५ लाख विनियोजन भएको छ ।

यो बजेटले आम नगरवासीको विकास प्रतिको उत्कृष्ट आंकाक्षालाई साकार पार्न, नगरको ऐतिहासिक सांस्कृतिक पर्यटकीय महत्वलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव एवं बन्धुत्व विकास र समग्र नगरको विकास तथा समृद्धिको महत्वलाई थप उजागर गर्ने विश्वास कुश्मा नगरपालिकाले लिएको छ ।

शुक्रवार  पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ ।

पैंयू गाउँसभाको १४ औँ अधिवेशनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि रु.४१ करोड २ लाख ४० हजार ८ सय बराबरको बजेट पारित गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्च ७६ दशमलब १४ प्रतिशत र पुँजीगत खर्च २३ दशमलब ८६ प्रतिशत बिनीयोजन गरिएको छ ।

प्रस्तुत गरिएको बजेटमा आयतर्फ समानीकरण अनुदान रु.८ करोड ८ लाख, सशर्त अनुदानतर्फ रु.२१ करोड ५८ लाख ९५ हजार, समपूरक अनुदानतर्फ रु.६० लाख र राजश्व बाँडफाँड तर्फ रु.६ करोड ५८ लाख ९९ हजार ९ सय ९९ रहेको छ ।

प्रदेश समानीकरण अनुदानतर्फ रु.९६ लाख ८२ हजार, विशेष अनुदानतर्फ रु.४० लाख, समपुरक अनुदानतर्फ रु.६० लाख र राजश्व बाँडफाँड तर्फ रु.२९ लाख ३६ हजार रहेको छ भने आन्तरिक आम्दानीतर्फ रु.५७ लाख ५० हजार र चालु वर्षमा रहने अनुमानित मौज्दाततर्फ रु।१ करोड ३२ लाख ७७ हजार ८ सय १ रहेको छ ।

उपाध्यक्ष रानाले गाउँपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि जम्मा चालु तर्फ रु ३१ करोड २३ लाख ६४ हजार ८ सय र पूँजीगत तर्फ रु.९ करोड ७८ लाख ७६ हजार बजेट बिनीयोजन गरेको जानकारी दिनुभयो । पैंयुँ गाउँपालिकाले गत आर्थिक वर्षमा रु. ४१ करोड७२ लाख ४२ हजार ७ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको थियो ।

आधुनिक कृषि प्रविधि, पर्यटन र पुर्वाधार, पैंयुँवासीको समृद्धिको आधार भन्ने मुल मर्मका साथ सार्वजनिक गरिएको बजेटमा शिक्षा, कृषि, स्वास्थ्य,सडक लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । आगामी वर्ष कृषितर्फ एक करोड १० लाख ६० हजार बिनीयोजन गरिएको छ भने स्वास्थ्य सेवाका लागि ७४ लाख ९७ हजार, शिक्षाका लागि १ करोड ९४ लाख २८ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका लागि १५ लाख ३० हजार बिनीयोजन गरिएको छ ।

पुर्वाधार विकास तथा गाउँपालिका स्तरीय कार्यक्रमका लागि ४ करोड ७ लाख ३० हजार र वडा कार्यालय तर्फ तीन करोड १५ लाख बिनीयोजन गरिएको छ ।

यस अघि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले प्रस्तुत गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रममा समग्र पैयुँ गाउँपालिकाको समृद्धिका खाकाहरु प्रस्तुत गर्दैै आन्तरिक, प्रदेश तथा संघ सरकारसँगको समन्वय र सहकार्यमा नागरिकका चाहना पुरा गर्न निरन्तर लागिरहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook