• होमपेज
  • शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक
जलजला गाउँपालिका

शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक

पर्वत । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्न शिक्षा ऐनमा रहेको व्यवस्था अनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएकाले यस्तो सुरुवात गरिएको हो । शिक्षा सुधार गर्ने अभियान अन्तर्गत यो विधिले केही सुधार हुने अपेक्षा गरेका छौँ ।” उहाँका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । प्रधानाध्यापकले चाहे विद्यालयमा परिवर्तन गर्न सक्छन् भन्ने लागेर उनीहरूको योजना अनुसार नै विद्यालय सुधार प्रस्ताव हेरेर जिम्मेवारी दिने तयारी गरिएको आचार्यले बताउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, “छनोट गर्दा निश्चित आधार बनाएर मूल्याङ्कन गर्ने र सोहीबमोजिम जिम्मेवारी दिने तयारी गरेका छौँ ।” शिक्षा ऐनमा रहेको व्यवस्था अनुसार परम्परागत रूपमा प्रअ बन्दा कुनै परिवर्तन नआएकाले प्रतिस्पर्धाका आधारमा काम गर्दा केही फरकपन आउला भनेर नयाँ कामको थालनी गरिएको उहाँको भनाइ छ । गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउन सक्ने परिवर्तन, कार्यान्वयन गर्न सक्ने कार्यव्रmमलगायतका स्पष्ट खाकासहितको प्रस्ताव तयार गर्नु पर्छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता हुने ती प्रस्तावउपर जनप्रतिनिधि, कर्मचारी र विज्ञले संयुक्त रूपमा अध्ययन गरेपछि उत्कृष्ट प्रस्ताव छनोट हुने छ । जुन शिक्षकको प्रस्ताव छनोटमा पर्छ उही शिक्षकलाई विद्यालयको आगामी पाँच वर्षको प्रधानाध्यापकको रूपमा नियुक्त गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook